जन्म दिएर चटक्कै छोड्यौ आमा

६,मंगलवार १५:११   Sangita Rai

आमाको माया कस्तो हुन्छ ? आमा नहुँदा कतिपटक रुनुपर्दो रहेछ ? यो त केवल आमा गुमाइसकेकालाई मात्र थाहा हुन्छ ।हेर्दाहेर्दै ६ वर्ष पुगेछ आमाले हामीलाई छोडेर जानुभएको । आमा गुमाउँदा दूधे बालक रहेको भाइ पनि अहिले ६ वर्षको भैसक्यो ।

‘दिदी हाम्रो आमा कहाँ हुनुहुन्छ ? जब भाइले यो प्रश्न गर्छ, म जवाफविहिन हुन्छु । आफूसरहका साथीहरुको आमा देखेर उसलाई नि आफ्नो आमा कहाँ हुनुहुन्छ भन्ने लाग्दो रहेछ । उसको प्रश्नको जवाफ मैंले आजसम्म दिन सकेकी छैन । सानो परिवार सुखी परिवार भन्छन् । तर आमाबुवाका ६ छोराछोरीसहितको ठूलो परिवार भए पनि हामी सुखी र खुसी नै थियौ ।

मेरो आमाबुवाको धेरै सन्तान हुनुमा हाम्रो सामाजिक परिवेश र चालचलनले पनि ठूलो भूमिका खेलेको छ । छोराको महत्व धेरै राख्ने हाम्रो जस्तो समाजमा छोराकै लागि मेरो आमाबुवाले पनि धेरै सन्तान जन्माउनुभएको हो । म जेठी छोरी, त्यसपछि भाइ, भाइ पछि लगातार ३ वटा बहिनी जन्मिए तर पनि मेरा बा आमा कम्तीमा २ वटा छोरा होस् भन्ने चाह थियो । ७ वर्षअघि छैठौ सन्तानको रुपमा छोरा जन्मेपछि उहाँहरुको इच्छा पूरा पनि भयो ।

तर भाइ एक वर्षपनि पुगेको थिएन आमा बिरामी हुनुभयो । उहाँको देव्रे स्तनमा गठागुठी आएपनि सुरुमा कसैलाई भन्नुभएन । घर, छोराछोरी, मेलापात गर्दा उहाँलाई आफ्नो स्वास्थ्यबारे ख्याल राख्ने समय नै कहाँ हुन्थ्यो र ? तर ती गाँठागुठी ठूलो हुँदै गएपछि उहाँको पीडा पनि बढ्दै गयो । सुरुमा अछामकै बयालपाटा अस्पतालमा उपचारका लागि जानुभयो ।

डाक्टरले २ हप्ताका लागि केही औषधि दिए तर ठिक भएन । अस्पतालबाट औषधि ल्याउँदै खाएपनि आमाको पीडा बीसको उन्नाइस भएन । यो क्रम झण्डै ६ महिनासम्म चल्यो । त्यसपछि बल्ल डाक्टरले जिल्लामा उपचार हुन सक्दैन भनी आमालाई उपचारका लागि अन्तै रेफर गर्यो । त्यसपछि १ वर्ष पनि नपुगेको भाइलाई बोकेर आमाबुवा उपचारका लागि भारतको लखनाउ हिँड्नुभयो ।

आमाबुवा उपचारका लागि गएपछि घरको अभिभावकमै भए । उनीहरुको हेरचाह गर्नु, घरका सबै काम गर्नु मेरो दिनचर्या हुनथाल्यो । उपचार गर्न गएका बुवाआमाको खबर नपाउदा हामी धेरै दुःखी हुन्थ्यौ । धेरै रुन्थ्यौ । एकदिन छिमेकीको घरमा बुवाले फोन गर्नुभयो । बुवाले मलाई केही भन्नै सक्नुभएन । उहाँ सुक्सुकाएको आवज मात्रै मेरा कानमा परे र त्यसपछि फोन काटियो ।

तर गाउँ टोलमा मेरो आमालाई क्यान्सर भएको कुरा फैलिसकेको रहेछ । अब मेरी आमा धेरै बाँच्नुहुन्न भन्ने कुरा छिमेकीको मुखबाट सुनेपछि आफू उभिएको धर्तिनै भाँसिएझै भयो । त्यसपछिका कुनै दिन पनि हाम्रो आँखामा आँसु ओभाएनन् । लखनाउबाट बुवाले आमालाई चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि ल्याउनुभयो । त्यहाँ पनि एक वर्ष उपचार गर्यौ तर क्यान्सरको अन्तिम अवस्थामा पुगेकाले आमासँग धेरै समय नरहेको कुरा डाक्टरले बताइसकेका थिए ।

आमाले हामीलाई चिन्ता नगरी पढ्न र असल मान्छे बन्नुपर्छ भनिरहनुहुन्थ्यो । आमाकै उपचार गर्दा गर्दै हामीसँग भएको पैसा पनि सकिसकेको थियो । अन्ततः आमाले हामीलाई छोडेर जानुभयो । आमा हामीमाझ नभएको नि ७ बर्ष भइसक्यो । भाइबहिनी पनि ठुला भइसके । मैले रेडियोमा काम गर्न थालेको पनि ६ वर्ष भैसक्यो । भाइबहिनीहरु पढाइमा अब्बल छन् । सानो भाइ नि अहिले त कक्षा १ मा पढ्छ । आमा भैदिएको भए मैले रेडियोमा बोलेको सुन्दा कति खुसी हुनुहुन्थ्यो होला ।

आफ्नो छोराछोरीको मेहेनत र पढाइप्रति कति गर्व गर्नुहुन्थ्यो होला । आमाको माया र साथको अभाव सधै खड्कीरहन्छ । अझ आमाको माया र ममता नबुझेको भाइले आमाका बारेमा सोध्दा त यो मन झनै भक्कानिन्छ । आमा तपाईले हामीलाई छोडेर जानुअघि भाइबहिनीको राम्रोसँग हेरचाह गर्नुभनेर जुन जिम्मेवारी मलाई दिनुभएको थियो, त्यसलाई सकेसम्म पूरा गर्ने कोसिस गरिनै रहेकी छु ।

भाइबहिनीलाई तपाईकै जति माया र ममता दिन नसकेपनि तपाईको अभाव हुन नदिन हर क्षण कोसिस गरिनै रहनेछु । संचारकर्मी भएर मैले समाजमा जुन नाम बनाएकी छु, त्यसमा अझै प्रगति गर्न सकूँ । तपाई मभन्दा कोशौ टाढा भएपनि तपाईको माया सधैं मसँग छ । मैले चाल्ने हरेक कदममा आशिर्वाद दिनुस् है आमा ।

इन्द्रसरा खड्का बाट