‘मनमा आयो भन्दैमा नपढेर साहित्य लेख्न अब सकिदैन’

४,आईतवार १७:११   Sangita Rai

काठमाडौँ, ४ असार । १३ बर्षको उमेरदेखि नै रचनामार्फत साहित्यिक क्षेत्रमा लागेका सुरेन्द्र महर्जन ‘अमर’ पछिल्लो समयका बहुआयामिक व्यक्तित्व हुन भन्दा फरक पर्दैन । काठमाडौँको खाल्डोमा दैनिक पैसाकै हिसाबकिताब गरेर जीन्दगी बिताउने आम मानिसभन्दा उनी फरक भएर जन्मे र त्यही फरक परिचय पनि स्थापित गराए । वि.सं. २०२९ जेठ १८ गते आमा मायादेवी डङ्गोल महर्जन र बुवा जुजुभाइ डङ्गोल महर्जनको न्यानो र सम्पन्न कोखबाट यो धर्तीमा पाइला टेकेका उनले कहिल्यै पनि अभावको महसुस गर्नुपरेन । तर उनले अभावै अभावबाट गुज्रिने गरेको नेपाली साहित्य र संगीतमा भने एउटा नयाँ अभावको पुर्ति गराई दिए ।

सम्वभतः निकै कम मानिसले मात्रै सक्छन्, सम्पन्न घरायसी वातावरणबाट बाहिर निस्किएर निकै तल्लो स्तरका मानिसहरुको बारेमा सोचेर रचना गर्न र आम पाठकलाई सोच्न बाध्य गराउने, सिर्जना । अहिले नै यति धेरै त भन्न नसकिएला तर उनले रचना गरेका कविता देखि हाइकु र कथा देखि उपन्यासलाई गहिरिएर अध्ययन गर्ने हो भने यसमा सानो त्याग, तपस्या र बलिदान छैन ।

जुन अन्य व्यक्तिले सायदै गर्न सक्छन । म कुल्लि (कविता संग्रह), जिन्दगी, मातृभूमि, दुनियाँको रीत, भविष्यको सपना कविता संग्रह लगायत उनका सयौँ कृतिहरु भइसकेका छन । आफ्नो जीवन नै नेपाली साहित्य र संगीतमा समर्पण गरेका अमर एउटा त्यस्ता अमर हुन । जसले नेपाली हुनुको गर्विलो पहिचानलाई फराकिलो बनाउँदै एउटा अमिट छाप छाड्दै अब्बल दरिने यात्राको उचाईमा पुग्ने हरपल कोसिस गरिरहे । उनै अमरले यसपटक हामीसंग निर्धक्क आफ्ना रचनाहरुसंगै भलाकुसारी मारे । भलाकुसारीको सम्पादित अंश :

 सानैदेखि रचनालाई नजिकबाट बुभ्mदै र लेख्दै आउनुभयो । अहिले साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?

साहित्य जीवनको पाटो हो । साहित्य बिना कोही पनि रमाउन र खुशी हुन सक्दैन । साहित्य अर्को शब्दमा आफैमा सिर्जित कुरा हो । यसको कुनै आकार, प्रकार र विचार हुदैन । यो कहाँनेर, कतिबेला सिर्जना हुन्छ । त्यो सोच्न त के अनुमान गर्न पनि गाह्रो छ ।

 त्यतिबेलाको बालापनले साहित्यतिर मोडिदियो । त्यस्तो के भयो ? जसले तपाईलाई यही क्षेत्रमा जीवन समर्पण गराउन बाध्य तुल्यायो ?

म १३ बर्षको थिए । जतिबेला म कक्षा ६ मा पढ्थे । नेपाली कितावमा रहेको एउटा कविताले मेरो मष्तिष्कभरी ठाउँ बनायो र थाहै नदिई जीवन नै यस क्षेत्रमा समर्पण गर्ने इच्छा पलायो । त्यो कविताको शीर्षक थियो ‘मेरो प्यारो ओखलढुङ्गा’ । जुन हेर्दा सामान्य प्रकृतिप्रेमी लाग्छ । तर यसको भाव र लेखाई अनि भोगाईको गहिराईमा जादाँ साच्चै यो विशेष छ । यो कविता मात्रै नभई एउटा छुट्टै संसार बोकेको कविता हो । जसबाट मलाई अथाह प्रेरणा मिल्यो । कविता, कविता मात्रै होइन । यो एउटा सिंगो इतिहास हो ।

कविता लेखेपछि रचना मात्रै होइन, नयाँ सिर्जना र प्रेरणा पनि लेख्न सकिन्छ भन्ने कुरा मैले त्यो कविताबाट बुझेँ । विस्तारै लेख्दै जादा मैले पहिलो पटक ‘आमा’ शीर्षकको कविता लेखेको हुँ । त्यो कविता अरुलाई पनि सुनाए । जुन धेरैले मन पराए । यसबाट मलाई थप लेख्न प्रेरणा मिल्यो । सायद, त्यतिबेला २०४६ सालतिर हुनुपर्छ । मैले नियमित रुपमा गद्य कविताहरु लेख्दै गए । तीमध्ये ‘आजै थाहा पाए’ कविता प्रकाशित पनि गरे । त्यहाँदेखि शुरु गरेको लेखन यात्रा अहिले कविता, गीत, मुक्तक, हाइकु, कथा, उपन्याससम्म पुगेको छ ।

 सानैबाट लेख्न थाल्दा पढाईतिर ध्यान गएन की ? पढ्ने रुचि नै थिएन ?

सानैदेखि साहित्यमा बढि रुचि भएकाले पढाईमा रुचि घट्दै गयो । कक्षामा पढ्दा र शिक्षकले पढाउदा इतिहास विषय अति मन पर्ने । तर गणित भनेपछि पढ्न खासै रुचि नै नलाग्ने । सायद यही बानीले होला, मलाई पढाई भन्दा बढि रचना सिर्जनामा ध्यान गयो । त्यतिबेला स्कुलमा हरेक हप्ताको शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत हुने साँस्कृतिक कार्यक्रमहरुमा मेरो सहभागिता बढ्दै गयो भने रचना सिर्जनामा पनि त्यत्तिकै मन गहिरिदै गयो ।

 नेपाली साहित्य विश्वका धेरै साहित्य भन्दा अब्बल मानिन्छ ? तर ती सबै रचनाबाट मात्रै सम्भव देखिएका छन । के यसमा अध्ययनको भूमिका गौण हो ? तपाई यसलाई के भन्नुहुन्छ ?

एक हदसम्म यो होला । तर नेपाली साहित्य अध्ययनबाट भन्दा व्यक्तिको भोगाई, सोचाई र कल्पनाबाट बढि लेखियो । र यसले अलि लामै इतिहास बनायो । तर अहिले समय फेरिएको छ । किनकी पहिला एउटा कुरा एउटै जनाले लेख्थे । त्यसको सबैले चर्चा गर्थे । तर अहिले एउटै कुरा दश जनाले लेख्छन । र त्यसमा उत्कृष्ट कसलाई भन्ने ? त्यसको मापदण्ड त परै जाओस, राम्रोसंग मुल्यांकन पनि भएन । त्यसैले म यसमा अब अध्ययन गौण होइन की, अध्ययन अनिवार्य ठान्छु । नपढीकन, अध्ययन र अनुसन्धान नगरीकन लेखिएका कुरा अहिले व्यक्तिको डायरीमै सिमित हुन्छन । त्यसले पाठकको मनलाई जित्न सक्दैन । मन, वचन र कर्मले एकचित्त भएर लागे साहित्य गहिरो भएर त खारिन्छ । तर त्यसका लागि पहिला बृह्त अध्ययन र अनुसन्धान हुन जरुरी छ । किनकी आधुनिक युग हो । यहाँ हरेक कुरा नयाँ चाहिन्छ र बनाउन सक्नुपर्छ ।


 तपाईको लेखन धेरै विधामा बाडिएको छ । कुन विधामा बढी रचना गर्न चाहनुहुन्थ्यो ?

मेरो विधा भनेकै साहित्य हो । साहित्यमा यो विधा भन्ने हुदैन । मनमा जुन कुरा सिर्जना भयो, त्यसलाई मैले रचनामा उतार्छु । जुन कविता, गीत, हाइकु, ताङ्का, मुक्तक, नाटक, गायन, संगीत र चित्रकारितामार्फत बाहिर आउँछ ।

 रचना त गर्नुभयो । त्यसलाई साहित्यिक कृति दिने काम चाँही कसरी गर्नुभयो नि ?

मैले अनगिन्ती रचना गरेपछि लाग्यो । यो अहिले मात्रै रचना हो । पछि यो आफैमा कृति र इतिहास बन्छ भनेर त्यसको संकलन र प्रकाशन शुरु गरेको हुँ । त्यसमा कथा, कविता, उपन्यास र कथा बढी जसो छन ।

 पछिल्लो प्रकाशनपछि नयाँ योजना के छ ?

मैले पछिल्लो पटक ‘अमर आधुनिक गितहरु गिति एल्वम’ बजारमा ल्याएको थिए । त्यसमा केही राम्रा गीत समेटिएका छन । अब म एउटा फिल्मको तयारीमा छु । त्यो पनि आफ्नै भाग्य उपन्यासमा केन्द्रित हुनेछ । यसको काम भइरहेको छ । सायद, चाडैँ बजारमा ल्याउछु होला ।

शब्दचित्र / संवाद : कुशुम विश्वकर्मा/संगीता राई