पार्टी र समाजले अझै चिन्न नसकेकी वीरगन्जकी छोरी

१३,आईतवार १७:२८   newdnn.com

मध्य नेपाल ।
– निलम पन्त,
नेपाली कांग्रेस भन्ना साथ वीरगन्जकी शान्ती कार्की कुनै पर्याय नाम होइन । वि.सं. १९८९ मा पर्सा जिल्लाको वीरगन्ज – १६, तेजारथ टोलमा जन्मिएकी उनी सानै उमेरदेखि समाज सेवामा पनि लागेकी महिला हुन् । सुरुका दिनमा राजनीति गर्ने व्यक्तिले पनि त्यो समाजको सेवा गर्ने भन्ने नै बुझिन्थ्यो । शान्ती कार्की १५ वर्षको उमेरदेखि पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि लगातार सर्घष गर्दै आएकी वीरगन्जकी होनहार छोरी पनि हुन् ।
नेपाली कांग्रेस पार्टीको छातामुनी रहेर आन्दोलन गर्दै जादाँ साहसी महिलाको रुपमा उनी दरिएकी  छन् । प्रजातन्त्रको लागि सर्घष गर्दै जाँदा शान्ती कार्कीले बर्षांै जेल जीवन विताएको उदाहरण धेरैलाई थाहा नहुन सक्छ । पञ्चायतकालिन शासकको यातना उनको जीवनको साह्रै पीडादायी क्षण रहेको बुझिएको छ । २०४६ सालको जनआन्दोलनमा पर्सा जिल्लामा महिलाको तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरी आन्दोलनमा होमिने उनी कम साहसी भने होइनन् । उनीजस्तै त्यागी व्यक्तिहरुको त्याग र बलिदानी पछिमात्र प्रजातन्त्रको बहाली भएको हो । तर उनले देश र जनता प्रति गरेको समर्पणलाई भने पार्टीले समेत सही मूल्याँकन नगरेको खुद काँग्रेसजन नै बताउँछन् । उनी प्रजातन्त्र सेनानीको केन्द्रिय सदस्य, नेपाली कांग्रेस महिला सघंको केन्द्रिय सदस्य हुँदै अझै पनि नेपाली कांग्रेसको महाधिवेसन महासमिति सदस्य हुन् ।
प्रजातन्त्र र समाजवादको लागि संघर्षरत् शान्ती कार्की आज सम्म वीरगंजमा भाडाको घरमा बस्न बाध्य भएको बुझिएको छ । उनको पकेट खर्च भने उनकै दाइ ज्ञानध्वज कार्कीले पठाइदिने गरेको र त्यसमा अपुग वीरगन्जका मानव अधिकारकर्मी तथा अधिवक्ता विजय उपाध्यायले सहयोग गर्दै आईराखेको नेतृ कार्कीले बताइन् । आम नेपाललीको समृद्धिको लागि भनी शासन सत्ता परिवर्तन गर्न थालेको सर्घषकै कारणले पढ्ने चाहना भएर पनि पढ्न नपाएको उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । इच्छाशक्ति भएर पनि आफ्नो जीवनको समृद्धि भन्दा पनि आम नेपालीको जीवन समृद्धिका लागि होमिदा उनले जम्मा एस.एल.सी सम्मको मात्र शिक्षा हासिल गर्न सकेको उनको भनाइ छ । उनको जीवनको दर्दनाक पक्ष त आम नेपालीको हितमा परिवर्तनको पक्षमा लागिरहँदा विवाह गर्ने समयले समेत नेटो काटेको पाइन्छ । जीवनमा एक्लो भएर बस्नु प्रायः हरेक व्यक्तिको लागि सहज कुरा होइन । तर उनले त्यो असहजतालाई पनि सर्लक्कै निलेकी छन् । तर समाजले उनी जस्ता समाज र राष्ट्रका लागि जीवन नै समर्पण गर्ने व्यक्तिलाई अझै सम्म चिन्न सकेको छैन । न त उनको पार्टी र नेताहरुले नै राम्रोसँग बुझ्न सकेका छन् । यिनै वीरगन्जकी छोरी शान्ति कार्कीसँग मध्य नेपाल सन्देशले गरेको थप कुराकानीको सारसंक्षेप :—
  •  तपाईलाई पञ्चायतकालिन शासकले जेलमा हाल्दा महिला बन्दीको अवस्था कस्तो थियो ? तपाई आफनो अनुभव बताईदिनुस् न ?
पञ्चायती व्यवस्थामा प्रजातन्त्रको लागि सर्घष गरेको महिला भएको कारणले मलाई अनेकथरी यातना दिने काम गरियो । कसैसँग भेटघाट गर्न नदिने, एउटै कोठामा बाथरुम, टवाईलेट भएको ठाउँमा राख्ने जस्ता काम पनि भए । जेलमा बढ्दो समस्या थियो । अन्य मुद्दामा महिलाबन्दी खेपी रहेको सजाय  र जेलभित्रको यातना हेर्दा सहन नसकी म पटक—पटक जेलभित्र अनसन बस्थे । अनि महिलाबन्दीहरुलाई केही राहत हुन्थ्यो ।
  •  नेपाली कांग्रेसको राजनीतिबाट तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?
जसले हिजो त्याग, तपस्या ग¥यो उसको मूल्याङकन् भएन । ठूला बडा नेताको अघिपछि गर्ने चाप्लुसी गर्ने मान्छेको बोलबाला भयो । सन्तुष्ट नभए पनि आफूले हुर्काएको पार्टी अन्त जान सकिन । नेतृत्व वर्गबाट पनि उति मूल्याङ्कन भएको छैन ।
  •  महिलाहरु राजनीतिको मूलधारमा नआउनुको कारण के हुनसक्छ ?
पहिलाको अपेक्षामा अहिले पहाड, हिमाल र तराईका महिलाहरु बढी राजनीतिमा सक्रिय भएका छन् । यो राम्रो पक्ष हो । अझ मूलधारमा महिलाहरुलाई ल्याउनको लागि शिक्षामा जोड दिनुपर्छ ।
  •  तपाई महिला भएकै कारणले आज सम्म पछाडी पर्नु भएको त होइन ?
हो, म महिला भएकै कारण केही पछाडी पारिएको भने पक्कै हो । त्यसमा पनि पुरुषहरुको पछाडी नलाग्ने र गलतको सधैं बिरोधी भएको कारण झन् म जस्ता व्यक्तिलाई पार्टीले पनि उति ठाउँ नदिएको हो । इमान्दारको अहिले कदर हुनछोड्यो ।
  •  महिलाहरुलाई राजनितीको मूलधारमा ल्याउन अझ के गर्नुपर्छ  ?
 महिलाहरु स्वयम् आफ्नो निर्णय गर्ने क्षमतामा जबसम्म पुग्दैनन् तब सम्म मूलधारमा आए पनि नआए पनि खासै अर्थ हुँदैन । महिलाहरुले पुरुषको तुलनामा पार्टी भित्र र बाहिर दोहोरो संघर्ष गरिरहनुपर्छ । यो अवस्थालाई सकारात्मक सोच भएको पुरुषहरुको सहयोग लिएर निरुत्साहित पारिनु पर्छ । तब मात्र महिलाहरुको राजनीति मूलधारको सार्थकता रहन्छ ।