वाम एकता संयोजन समितिको बैठक बस्दै, खाका तयार गर्ने दुवै दलको जोड

२६,शुक्रबार ०४:५९   Sangita Rai

काठमाडौँ २६ माघ । वाम एकता संयोजन समितिको बैठक शुक्रबार बस्दै छ । पार्टी एकताको विधि तय गर्न दुई अध्यक्षलाई सकस भइरहेका बेला बैठक बस्ने भएको बताइएको छ ।

केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको भेटपछि समितिको बैठक तय भएको हो । गत साता बसेको बैठकमा दुई अध्यक्षले आआफ्ना तर्फबाट केही गृहकार्य गर्नुपर्ने सुझाव आएपछि यो अवधिमा दुई अध्यक्षबीच पटक–पटक अनौपचारिक छलफल भएको छ ।

छलफलमा दुवै नेताले एकताको विधि के हुने भन्ने स्पष्ट निक्र्योल गरिसकेका छैनन् । तर शुक्रबार यही विषयमा ठोस छलफल गर्ने गरी बैठक बोलाएको अध्यक्ष दाहालका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।

शुक्रबारको बैठकले पार्टी एकताको संगठनात्मक र सैद्धान्तिक विषयमा गृहकार्य गर्न कार्यदल गठनको निर्णय गर्ने सक्ने सम्भावना छ । यसअघिको बैठकमा दुई अध्यक्षबीच थप गृहकार्य गरेपछि कार्यदल बनाउनुपर्ने सुझाव आएको थियो ।

एमाले र माओवादीबीच विशेष गरी पार्टी एकतापछिको अध्यक्ष पद कसले लिने भन्नेमा मुख्य समस्या छ । यो गाँठो फुक्नसके एकताको प्रक्रिया सहज रूपमा अघि बढ्न सक्ने अवस्था छ । फागुन दोस्रो साताभित्र सरकार बनाइसक्नुपर्ने भएकाले यस बीचमा पार्टी एकताको खाका तयार गरिसक्ने गरी दुवै दलको जोड छ ।