कपिलवस्तुमा आठसय ७८ जनामा हात्तीपाइले, बालबालिका उच्च जोखिममा

२६,शुक्रबार ०४:३९   Sangita Rai

कपिलवस्तु, २६ माघ । कपिलवस्तुको जितपुरमा ८ सय ७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् ।

सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिदै आइएको छ । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको पनि गरिएको छ ।

अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मीले बताए । जिल्लामा यस वर्ष पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । यही फागुन १२ देखि तीन दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तत्कालीन बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो । विसं २०७१ मा जिल्लाका ४० विद्यालयका छ र सात वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब पाँच प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको प्रमुख भगतले बताए ।

रोगका परजीवी रहेका मानिसलाई सामान्य वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने डाक्टरहरुले बताएका छन् । स्वयंसेवककै प्रत्यक्ष निगरानीमा औषधि खुवाइने भएको छ । हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ ।

यो रोग लागेपछि खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, हात, स्तन सुन्निने गर्छ  । यो औषधि दुई वर्षमुनिका बालबालिका, सात दिनको सुत्केरी, कडा रोग लागेका र ७० वर्ष नाघेकाले सेवन गर्न नहुने चिकित्सकले बताए ।