गुल्मीको वनमा भीषण आगलागी, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

२६,शुक्रबार ०४:२१   Sangita Rai

गुल्मी, २६ माघ । गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा एक दिन अघि लागेको भीषण आगलागी हुदा नियन्त्रण बाहिर गएको छ ।

आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् ।आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहेका छन् । आगो निभाउनका लागि यतिबेला नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ ।

जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताए । आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताइएको छ । आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारण आगो गाउँनजिकै पुग्ने खतरा देखिएको अर्यालले बताए ।

गाउँमाथिबाट आगो तलतल सर्ने क्रम शुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए । आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा परेको बताइएको छ ।