कर्मचारी नहुँदा नगरपालिकाको कामकारवाही प्रभावित

२३,मंगलवार ०६:०९   Sangita Rai

काठमाडौँ, २३ माघ । बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।

नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहँुदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

‘‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उनी पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने कर्मचारी छैनन्’’, उनले भने, ‘‘प्रशासन शाखामा अधिकृतस्तरको कर्मचारी नहुँदा आफैँ काम गर्नुपरेको छ ।’’
अहिले एक नासु मात्र प्रशासन शाखामा छन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि २८ गतेसम्म बिदामा बसेका छन् । यसैगरी अहिले नगरपालिकामा स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु, प्राविधिक र सामाजिक विकास शाखा स्थापना गरिए पनि पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित भएको छ ।

कर्मचारीको अभावले आन्तरिक लेखा परीक्षण शाखा अझै नबनेको उनको भनाइ छ । अहिले नगरपालिकामा केन्द्रबाट थप कर्मचारी नआएको र पहिल्यैका करार कर्मचारीद्वारा काम चलाइएको उनले बताए ।