स्वास्थ्य संस्थामा औषधि अभाव, खरिदमा अलमल

२२,सोमबार ०४:०१   Sangita Rai

म्याग्दी, २२ माघ । धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन थालेको हो ।

यस स्वास्थ्य चौकीमा अहिले कदम म्याग्दीमार्फत गुड नेवर्स इन्टरनेशनलले दिएको औषधि मात्रै बाँकी रहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

गुर्जामा मात्रै होइन जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थाहरुमा पनि पर्याप्त औषधि छैन । संघीयताको कार्यान्वयन सँगै स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकारक्षेत्र स्थानीय तहमा गएपनि निःशुल्क बाँड्ने औषधि खरिद तथा बन्दोबस्त गर्ने सवालमा भने अलमल देखिएको छ ।

औषधि खरिद र कर्मचारीको खटनपटनको सही व्यवस्थापन हुन नसक्दा जिल्लाको ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरुबाट सहज रुपमा स्वास्थ्य सेवा लिनबाट सर्वसाधारण वञ्चित हुन थालेका छन् ।

विगतका वर्षमा जिल्ला स्वास्थ्य कार्यालयले एकमुष्ट औषधि खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायतका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधि उपलब्ध गराउँदै आएको थियो ।

यस वर्षदेखि भने त्यो जिम्मेवारी स्थानीय तहलाई गएको छ । तर स्थानीय तहका जनप्रतिनिधिहरुले औषधि खरिदका लागि पर्याप्त बजेट विनियोजन नगर्दा र औषधि खरिदमा अलमल परेपछि समस्या देखिन थालेको हो ।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ४२ किसिमका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

तर अहिले जिल्लाभरका अधिकाँश स्वास्थ्य संस्थाहरुमा निःशुल्क घोषणा गरिएका औषधिहरु मुश्किलले एक दर्जन भन्दा बढी पनि पाइन छाडेको छ ।