३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

२२,सोमबार ०३:३७   Sangita Rai

चौतारा, २२ माघ । भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् ।

जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् ।

हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताए ।

दोस्रो किस्ताका लागि ४० हजार ३५० परिवारका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि भने पाँच हजार ४८६ परिवारको मात्र सिफारिश गरिएको सो कार्यालयले जनाएको छ ।

पुस मसान्तपछि आउने लाभग्राहीका लागि सिफारिश नगरिएको बताउँदै म्याद थप्ने नथप्ने बारेका अहिलेसम्म जानकारी नआएकाले सिफारिश नगरिएको प्रमुख गौतमले बताए ।