कोहलीको शतकमा भारतको शानदार जित, एकदिवसीय श्रृङ्खलामा अग्रता

१८,बिहीबार १९:०७   Sangita Rai

काठमाडौँ, १९ माघ । कप्तान विराट कोहलीको शानदार शतकमा भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेल ६ विकेटले जितेको छ । दुरबानमा घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ७० रनको लक्ष्य भारतले ४५ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

धोनीले ४५ ओभरको तेश्रो बलमा चौका हान्दै भारतलाई जित दिलाएका हुन् । धोनी ४ र हार्दिक पाण्ड्या ३ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका एन्डिले फुलेहक्वायोले २ विकेट लिए । उनले कोहली र रहाणेलाई आउट गरेका थिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान फाफ डुप्लेसिसको १ सय २० रनको मद्धतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।

अफ्रिकालाई सस्तैमा रोक्न भारतका कुलदिप यादवले ३, यज्वेन्द्र चाहलले २ तथा जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले एक एक विकेट लिए ।

कोहली र रहाणेको १ सय ८९ रनको साझेदारी

भारतका लागि कप्तान विराट कोहलीले १ सय १२ र आजिन्क्या रहाणेले ७९ रनको योगदान दिए । दुबैले तेश्रो विकेटका लागि गरेको १ सय ८९ रनको साझेदारी नै जितको आधार बनेको थियो । त्यसअघि ओनपर रोहित शर्मा १२ र शिखर धवन ३५ रनमै आउट भएका थिए ।

कोहलीले १ सय १९ बल खेलेर ११ चौका हाने । चौथो नम्बरमा व्याटिङ गर्न आएका रहाणेले पनि टिकेर व्याटिङ गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।

करियरको ३३ औँ शतक हान्दा एकदिवसीय क्रिकेटका नम्बर एक व्याट्सम्यान कोहलीले भारतलाई पनि एकदिवसीयको नम्बर एक टिम बनाउन गतिलो शुरुवात गरेका छन् ।

घाइते एबी डिभिलियर्स अनुपस्थित पहिलो एकदिवसीयमा भारत दक्षिण अफ्रिकामाथि हावी भएको थियो । ६ खेलको श्रृङ्खलामा भारतले १–० को अग्रता लिएको छ ।

यो श्रृङ्खला जिते भारत एकदिवसीय क्रिकेटको पनि नम्बर एक टिम बन्ने छ । भारत यसअघि लामो समयदेखि टेस्टको नम्बर एक टिम पनि रहदै आएको छ ।

डुप्लेसिसको शतक खेर गयो !

भारतका बलरले शुरुवाती रुपमै विकेट लिएर दक्षिण अफ्रिकाका व्याट्सम्यानलाई दबाबमा राखेपनि कप्तान फाफ डुप्लेसिसले भने १ सय २० रनको धुँवाधार पाली खेले ।

१ सय १२ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । करियरको नवौ शतक हानेपनि उनले डिभिलियर्स बिनाको दक्षिण अफ्रिकालाई जिताउन सकेनन् ।

उनलाई साथ दिने गतिलो व्याट्सम्यान नहुँदा टिमले हार व्यहोर्नुपरेको हो । ओपनर क्वीन्टन डि कक ३४ र क्रिस मोरिसले ३७ रन बनाउनुबाहेक अरुले दक्षिण अफ्रिकाका लागि खास योगदान गर्न सकेनन् ।

भारतसँगको टेस्ट क्रिकेट श्रृङ्खला जितेका डुप्लेसिसले एकदिवसीय श्रृङ्खला जित्न सक्छन् की सक्दैनन् ? डिभिलियर्सपछि अफ्रिकी क्रिकेटको केन्द्रबिन्दुमा रहेका डुप्लेसिसको परीक्षाको घडी शुरु भएको छ ।

यदि उनले यो श्रृङ्खला गुमाए आफ्नै नेतृत्वमा एकदिवसीयको उत्कृष्ट टोलीलाई आइसिसीको बरियतामा दोश्रो स्थानमा पाउनेछन् । र डिभिलियर्स जतिको क्षमता आफुमा छैन भनेर चित्त पनि बुझाउनेछन् ।