आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस र थ्रीस्टार खेल्ने

१८,बिहीबार १८:०५   Sangita Rai

पोखरा, १९ माघ । १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब खेल्ने भएका छन् ।

पोखरा रङ्गशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो ।

खेलमा पुलिसका सुमन लामाले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पुलिसका लागि फाइनलमा प्रवेश गर्न सोही गोल निर्णायक बन्न पुग्यो ।

खेलको २१ औं मिनेटमा पुलिसका रवि पासवानलाई डिबक्सभित्र लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले धरानका डिफेन्डर रोमन लिम्बूलाई पहेलो कार्ड दिदै पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए ।

त्यही पेनाल्टीलाई सुमन लामाले गोलमा परिणत गर्दै पुलिसलाई उपाधि नजिक पुर्याएका हुन् । पुलिसले अब उपाधिका लागि शनिबार थ्रीस्टारसँग खेल्नेछ ।