आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

१,सोमबार १८:०७   Sangita Rai

धनगढी, १ माघ । ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

स्थानीय रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आर्मीले विजय प्राप्त गरेको थियो । निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् निकालिएको थियो ।

आर्मीले एपिएफलाई पेनाल्टी सुट आउटमा चारविरुद्ध पाँच गोलले पराजित गरेको हो । उपाधिसँगै आर्मीले रु ११ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

एपिएफका सुदीप सिन्ग्राकारले हानेको प्रहार खम्बामा लागेर फर्किएपछि एपिएफले उपविजेतामा चित्त बुझाउन परेको हो । एपिएफले पाँच लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार दुई खेल खेल्दा विपक्षीले राम्रो खेले पनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमिएको बताए ।

एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेले पनि पाएका केही मौका चुकाउँदा पेनाल्टीमा खेल गुमाइएको बताए ।

प्रतियोगिता अवधिभर आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाएका थिए ।

यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राइजिङ प्लेयर सुदूरपश्चिम–११ का गोलकिपर अमानत शेखलाई घोषणा गरिएको छ । सबै विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार पाएका छन् ।

उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पुस्कार प्रदान गर्नुभयो । गत पुस २१ गतेदेखि शुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टोलीको सहभागिता थियो ।

तस्बिर : गोल नेपाल डटकम