पहिलोपटक ग्रेडिङ पद्धतिबाट कक्षा ११ को परीक्षाफल सार्वजनिक

२९,शनिबार १८:३३   Sangita Rai

भक्तपुर, ३० पुस । लामो छलफलपछि अन्ततः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाटै सार्वजनिक गरेको छ ।

शनिबार बेलुकी झण्डै दुई घण्टा बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डमा ग्रेडिङमै परीक्षा सार्वजनिक गर्ने की पुरानै पद्धति भन्ने बारेमा केही अन्यौल थियो

यसअघि ग्रेडिङमै परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय थियो । ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार पहिलो पटक ग्रेडिङ्ग प्रणालीमा नतिजा सार्वजनिक गरिएको र डी ग्रेड ल्याउनेले ग्रेड बृद्धिको परीक्षा दिन पाउनेछन् ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा संचालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिनुभयो ।

एकभन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने त्यस्ता विद्यार्थीको अर्को साल मात्रै परीक्षा दिन पाउने छन् । ग्रेडिङ प्रणाली लागु भएसँगै विद्यार्थीले विषयगत रुपमा नतिजा पाउने छन् ।

स्थानीय तहको चुनावका कारण पटक पटक सारिएको कक्षा ११ को परीक्षा अन्ततः असार १ गतेदेखि संचालन गरिएको थियो ।

परीक्षाफल www.neb.gov.np र www.neb.ntc.net.np मा हेर्न सकिनेछ ।