उत्खननपछि तिलौराकोटमा आउने पर्यटक बढे

२९,शनिबार ०४:४७   Sangita Rai

कपिलवस्तु, २९ पुस । प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

“उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ”, उनले भने । खासगरी यहाँ म्यानमा, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन् ।

यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने भिक्षु मैत्री महास्थवीरले बताए ।

बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।

सन् २०१७ मा कूल ४१ हजार ५५३ जनाले तिलौराकोट भ्रमण गरेका हुन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् ।

सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए । तीमध्ये ३२ हजार ८९१ विदेशी, ९४८ भारतीय र दुई हजार ६३२ नेपाली थिए ।

सन् २०१६ को तुलनामा २०१७ मा पाँच हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष एकाइ कार्यालय तिलौराकोटले जनाएको छ ।