सेमिफाइनल पुगेको २४ घण्टाभित्रै मनाङ फाइनलका लागि बलियो आर्मीसँग खेल्दै !

२८,शुक्रबार १६:४५   Sangita Rai

धनगढी, २८ पुस । रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय रंङ्गशालामा शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

बीसौँैँ मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो । छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए ।

आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ ।

२४ घण्टा पनि नपुग्दै बलियो टोलीसँग फाइनल 

प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । मनाङले सेमिफाइन पुगेको २४ घण्टा पनि नपुग्दै बलियो टोलीसँग प्रतिष्पर्धा गर्न लागेको छ । जुन उसका लागि निकै ठुलो चुनौति पनि छ ।

राष्ट्रिय टोलीकै मुख्य स्ट्राइकर नवयुग श्रेष्ठको टिमसँग राष्ट्रिय टिमबाट सन्यास लिएका अनिल गुरुङ कसरी भिड्लान ? खेल रोचक र निकै प्रतिष्पर्धात्मक हुने सम्भावना छ ।

यो खेल फाइनल सरह छ । सुदुरपश्चिम ११ र एपीएफबीच त्यति ठुलो प्रतिष्पर्धा हुने अनुमान भने छैन् । जति आर्मी र मनाङबीच प्रतिष्पर्धा हुनेछ । यो खेल जित्ने टोलीले उपाधि जित्नेमा सन्देह छैन् ।

आइतबार भने आयोजक सुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ । खप्तड गोल्डकप विजेताले ११ लाख ११ हजार ११ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।