देउवालाई ‘सरप्राइज’ दिएर सरकारबाट बाहिरिए माओवादी मन्त्री

२८,शुक्रबार १६:२५   Sangita Rai

काठमाडौँ, २८ पुस । राष्ट्रियसभा चुनाव हुने पक्का भएपछि र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन लागेपछि नेकपा माओवादी केन्द्रका मन्त्रीले देउवा सरकार छाडेका छन् । यद्यपी यो बीचमा माओवादी केन्द्रका मन्त्रीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अविष्मरणीय सरप्राइज दिए । जुन देउवाले सपनामा पनि सोचेका थिएनन् ।

आफ्नै सरकारमा रहेर पनि घात गरेपछि देउवाले माओवादी मन्त्रीलाई चुनावअघि नै जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । यद्यपी यसले उनीहरुलाई कुनै असर गरेन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरसहितको पत्र बुझाएर सरकार छाडेको जानकारी गराएका हुन् ।

उनले राजीनामापत्र बुझाउँदै आफुले विना विभागीय मन्त्रीको तलब नलिने पनि घोषणा गरेका छन् । निर्वाचनको सुनिश्चितताका लागि भन्दै विनाविभागीय हैसियतमा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी थिए ।

देउवालाई सरप्राइज दिनेमा उनका गृहमन्त्री जनार्दन शर्मा हुन् । उनले गृहमन्त्री भएकै बेलामा एमालेसँग पार्टी एकताको घोषणा गरी चुनावी तालमेल गर्न भित्री तर ऐतिहासिक योजनालाई सफल पारेका थिए ।

विनाविभागीय मन्त्री पोखरेलले पार्टी अध्यक्षकोतर्फबाट हस्ताक्षरित पत्र बुझाएर आफूहरु औपचारिकरुपमा सरकारबाट बाहिरिएको जानकारी दिए ।

आफूहरु सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैदेखि माओवादी केन्द्र र नेकपा संयुक्त सम्बद्ध मन्त्रीलाई फिर्ता बोलाइ सरकारमा नरहेको जानकारी गराएको पत्रमा उल्लेख छ ।

माओवादी केन्द्रले सरकारबाट नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको समेत अपेक्षा गरेको छ ।

गत असोज १७ गते नेकपा एमालेसँग वाम गठबन्धनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गरेको, पार्टी एकताको प्रक्रियासमेत शुरु भएको अध्यक्ष दाहालको पत्रमा उल्लेख छ ।