दलीय सहमतिमा प्रदेशको राजधानी र प्रमुख तोक्ने सरकारको तयारी

२७,बिहीबार १६:३८   Sangita Rai

काठमाडौँ, २७ पुस । तिब्र आलोचना भएपछि सरकार दलीय सहमति खोजेर भएपनि प्रदेशको राजधानी र प्रमुख तोक्ने अन्तिम तयारीमा जुटेको छ ।

यसअघि आन्दोलन चर्किएपछि सरकारले तत्काललाई प्रदेश राजधानी नतोक्ने र सबै प्रदेशका सांसदलाई काठमाडौँमै शपथ गराउने निर्णय गरेको थियो ।

तर विपक्षी दल लगायत नागरिकस्तरबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको दाबी गरे ।

“विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।” उनले भने ।