फितलो व्याटिङका कारण भारतले पहिलो टेस्ट दक्षिण अफ्रिकालाई सुम्पियो !

२४,सोमबार १९:१७   Sangita Rai

एजेन्सी, २५ पुस । टेस्ट क्रिकेटमा झिनो लक्ष्य पाएपनि फितलो व्याटिङ सुधार्न नसकेपछि भारत दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा पराजित भएको छ ।

२ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको भारत दोश्रो इनिङमा १ सय ३५ रनमै समेटिएपछि दक्षिण अफ्रिका ७२ रनले विजयी भएको हो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका भेरनन फिलिन्दर एक्लैले ६ विकेट लिए ।

आश्विन बाहेक कोही भारतीय व्याट्सम्यान पनि क्रिजमा लामो समय टिक्न नसकेपछि भारतको हार सुनिश्चित भएको थियो ।

यसअघि पहिलो इनिङमा २ सय ८६ रन बनाएको घरेलु टोली दोश्रो इनिङमा भने १ सय ३० रनमै अलआउट भएको थियो । जबकी तेश्रो दिनको खेल पुरै बर्षाले प्रभावित हुँदा पनि चौथो दिनमा अफ्रिकाले थप ६५ रन जोड्दा ८ विकेट गुमाएको थियो ।

तर यसको फाइदा भारतले लिन सकेन । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको भारतका लागि स्टार व्याट्सम्यान चल्न सकेनन् । र तीन खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा १–० ले पछि परेको छ ।