डा. केसी पक्राउ प्रकरण : अब के हुन्छ ? भित्री खेल कस्को ?

२४,सोमबार १८:५६   Sangita Rai

सम्पादक टिम, २५ पुस । गुणस्तरीय स्वास्थ्य शिक्षाका अभियान्ता तथा भ्रष्टाचार, अनियमितता र अराजक प्रवृत्तिविरुद्ध निरन्तर खबरदारी गर्ने डा. गोविन्द केसी पक्राउ परेका छन् ।

अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतकै फैसलाका आधारमा डा.केसी सोमबार आमरण अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका हुन् ।

यसअघि सामान्य लाग्ने तर गम्भिर एजेन्डा लिएर आमरण अनसन बस्ने केसी सोमबार भने सर्वोच्च अदालतका प्रधानन्यायाधिस गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन शुरु गरेको घोषणामा थिए ।

तर अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले अनसन शुरु गरेको केही घण्टामै केसीलाई प्रहरी लगाएर अनसनस्थलबाटै पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखेको छ ।

प्रहरीले मंगलबार बिहान ९ बजे काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने र अदालतको अवहेलना गरेको आरोपमा मुद्धा चलाउने जनाएको छ ।

डा.केसीले अकल्पनीय ढंगले हठात ! सर्वोच्च र उसका मुख्य न्यायाधिसमाथि अनसन बस्नु आफैमा विरोधाभास कदम रहेको विज्ञहरुको भनाई छ ।

नाम नबताउने शर्तमा डा.केसी पक्राउ परेपछि एक विज्ञले भने ‘डा.गोविन्द केसी एउटा चिकित्सक नभई अभियान्ता भइसकेका थिए । तर उनको सोमबारको अनसन शुरु गर्ने एजेन्डा जोखिमपूर्ण मात्रै थिएन । न्यायको औचित्यमाथि पनि प्रश्न थियो । तर केसीले यो मुद्धा छलफल नगरी एक्लै लड्ने योजना बनाउनु अलिकति प्रक्रिया मिलेन । र पक्राउ पर्नु ठुलो समस्याको सिर्जना भयो ।’

अब के हुन्छ ?

डा.केसी पक्राउ परेपछि धेरैजसो नागरिक र उनका पक्षधर सर्वोच्चविरुद्ध खनिएका छ्न । यसअघि तत्कालिन प्रधानन्यायाधिस शुशिला कार्कीलाई महाअभियोग लगाइएका बेला सर्वोच्चको स्वतन्त्रतामाथि विश्वास गर्ने ठाउँ बनेको थियो ।

किनकी तत्कालिन सरकार र केही नेताले कार्कीमाथि महाअभियोग लाउँदा स्वतन्त्र न्यायको पक्षमा जनसागर सडकमा ओर्लिएको थियो । तर कार्कीका विरोधी र भ्रष्ट प्रवृत्ति रहेका भनिएका अहिलेका प्रधानन्यायाधिस पराजुलीका केही फैसलाले भने उनी विवादमा तानिएको कानुनविदहरु दाबी गर्छन् ।

‘अरबौ भ्रष्टाचार गरेका चुडाँमणी शर्मालाई किन धरौटीमा मात्रै छाडियो ? साझाको करोडौँ रकम खाएका डोलिन्द्र शर्मा किन सहजै फेरी साझाको ढुकुटी रित्याउन फर्किए ?’

एक कानुनविदले डिएनएनसँग पराजुलीको पछिल्ला निर्णयबारे प्रष्ट्याउँदै भने ‘यी विवादित विषयमा सर्वोच्चले जुन फैसला गर्यो । त्यसले स्वतन्त्र अनि निष्पक्ष न्यायमा पराजुलीको भूमिकाप्रति प्रश्न उठाएको थियो । र डा. केसीलाई अनसन बस्नुपर्ने अवस्थाको सिर्जना गराएको हो ।’

सर्वोच्चका पछिल्ला फैसला चित्तबुझ्दो नभएका र कतिपय फैसलामा प्रश्न समेत उठेकाले डा.केसीका विरुद्ध सडक तात्ने निश्चित छ । यसका पक्षमा केही राजनीतिक दलका नेता जस्तै गगन थापा लगायतले पनि समर्थन गरेपछि प्रहरीले सकुशल छाड्ने सक्ने सम्भावना पनि उत्तिकै छ ।

तर लगत्तै आउने वाम गठबन्धनको सरकारले भने डा.केसीलाई थप अनसन बस्न बाध्य पार्ने र त्यसका लागि खेल शुरु भएको कतिपयको बुझाई छ ।

भित्री खेल कस्को ?

अनसन शुरु भएको केही घण्टामै डा.केसीलाई पक्राउ गर्नु सर्वोच्चकै केही न्यायाधिसको चलखेल भएको हुन सक्ने अनुमान गरिएको छ ।

सर्वोच्चकै केही न्यायधिसको दाबी छ की ‘अहिलेका न्यायधिस न्याय खोज्नेलाई काँशी पठाउने र सर्वोच्चमा मान्छे र मुल्य हेरेर फैसला गर्ने व्यापार चलाईरहेका छन् । यस्तोमा गोविन्द केसीलाई कसले मान्ने ? अनि आफ्नो व्यापार चलाउन किन विरोधीलाई नसमात्ने ?’

यही भित्री पात्र र प्रवृत्तिका कारण केसी पक्राउ परेका हुन् । यद्यपी केसी आफैले उठाएको मुद्धा र अहिलेको अनसन प्रक्रिया पनि विवादित छ । र उनले राजीनामा माग गर्ने बलिया प्रमाण पनि जुटाइसकेका छैनन् ।

अर्कोतर्फ आफ्ना राजनीतिक निर्णय सजिलै पास गराउन मार्ग प्रशस्त चाहेका केही दलका नेताको भित्री स्वार्थका कारण पनि केसी पक्राउ परेका र उनको मनोबल कमजोर पार्न अहिलेको अवस्था सिर्जना गरिएको देखिएको छ ।

तर सोमबार केही घण्टाको यो दृश्यका लागि पुर्वतयारी र त्यत्तिकै भित्री चलखेल भएको पुष्टि हुन भने केही दिन दलका नेता र सरकारको कदम जिम्मेवार ठहरिनेछ ।

र अब भ्रष्टाचारविरुद्ध अनवरत लड्ने एक अभियान्ताको रिहाईका लागि भने नागरिक दबाब निकै जरुरी भइसकेको छ ।