जनताको चाहना : खानेपानी, सडक निर्माण, वस्ती विकास र आर्थिक समृद्धि !

२३,आईतवार १८:०९   Sangita Rai

काठमाडौँ, २३ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूले सबै राजनीतिक दलहरू मिलेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

महालक्ष्मी नगरपालिकाद्वारा आयोजित ललितपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदको सम्मान तथा बधाई कार्यक्रममा सांसदहरूले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए ।

ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा आफूले जनताको चाहनाअनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्यद्वय माधव पौडेल र ज्ञानेन्द्रराज शाक्यले एकीकृत विकास योजनाअनुसार आफूहरूले काम गर्ने बताए ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरबासीको चाहनाअनुसार नै खानेपानी, सडक निर्माण र वस्ती विकासका योजना अगाडि बढेको बताए ।