ग्यास उद्योगको अनुगमन शुरु, मापदण्ड विपरितकालाई बन्द गरिने

२१,शुक्रबार ०५:०३   Sangita Rai

काठमाडौं, २१ पुस । ग्यास पड्किएर जोखिम बढेपछि सरकारले आजबाट ग्यास उद्योगहरुको अनुगमन शुरु गरेको छ । मापदण्ड पूरा गर्न उदासीन देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन शूरु गरेको हो ।

विभागले आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।

विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष बितिसक्दा पनि आग्रह पालना नगरेपछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागको भनाइ छ ।

विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टलेमात्र गुणस्तर चिहृन लिएका छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् । गुणस्तर चिहृन लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् ।

काठमाडौँ र केहीदिन अघि विरगञ्जको एक ग्यास उद्योगमा आगलागी हुँदा चार तीन जनाको ज्यान गएको थियो ।