मुक्तकमैयाको सामूहिक व्यवसाय, माछापालनबाट मनग्य आम्दानी

२९,शुक्रबार ११:३३   Sangita Rai

भीमदत्तनगर, २९ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका-५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दै आएका छन् ।

विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् ।

सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भने–“विगत वर्षमा वार्षिक ३ लाखसम्म नाफा भएको थियो ।”

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)ले समूहमार्फत मुक्तकमैया किसानलाई माछापालनमा सहयोग गर्दै आएको छ । पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ ।

स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हुँदै गइरहेको बताउँछन् ।

माछापालनमा आवद्ध किसानले बजारको समस्या नरहेको बताएका छन् । अहिले माछा प्रतिकिलो २ सय ५० देखि रु ३ सय सम्ममा बिक्री भइरहेको छ ।

आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले २६ हजार तथा एनएनएसडब्लुएले २१ हजार माछाका भुरा सो समूहलाई उपलब्ध गराएको छ ।

माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् । उनीहरुले तालको ठेक्काबापत वार्षिक एक लाख ५० हजार नगरपालिकालाई तिर्दै आएका छन् । रासस