दोस्रो चुनावको अधिकांश मतगणना भोलि, पहिलो चरणको गणना भने आजैबाट शुरु

२१,बिहीबार ११:२५   Sangita Rai

काठमाडौँ, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा बिहिबार मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ ।

मंसिर १० गते पहिलो चरणको मतगणना भने बिहिबार साँझबाट मतगणना सुरु हुने छ । आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ ।

आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताए ।

आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको रहेको बताएको छ । अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारिएको छ । केही जिल्लाका निर्वाचनका अधिकृतहरुले भने सीसीटीभी आवश्यक नपर्ने आयोगमा जानकारी गराएको प्रवक्ता ढकालले बताए ।