चिसो मौसमका बाबजुद मतदाताको बाक्लो उपस्थिति, उत्साहजनक मतदान गर्दै

२१,बिहीबार ०२:३२   Sangita Rai

काठमाडौँ, २१ मंसिर । मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।

अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

चिसो मौसमका बाबजुद पनि कतिपय मतदान केन्द्रमा मतदाता बिहान सबेरैदेखि लाइनमा बसेर उत्साहपूर्ण रुपमा मतदान गर्दै छन् भने मतदान निकै शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सञ्चालन भइरहेको देखिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका सात हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा बिहिबार मतदान हुँदैछ ।

संविधानसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक हजार ६ सय ६३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी दुई हजार ८ सय १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका लागि २ सय २० पदका लागि जम्मा पाँच हजार ८ सय ३८ जना निर्वाचनको प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा एक लाख ५५ हजार कर्मचारी मतदान कार्यमा खटिएका छन् ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिन तथा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्णपालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरेको छ । रासस