रक्षामन्त्री प्रधानले भने- “सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्नुहोस”

२०,बुधबार ०९:५२   Sangita Rai

काठमाडौँ, २० मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गरे  । “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्”, उनले भने ।

रक्षामन्त्री प्रधानले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको जानकारी दिँदै सेनालाई गोली चलाउने अधिकारसमेत प्रदान गरिएकाले उच्छुंखल कार्यमा सहभागी नहुन सबैलाई आग्रह गरे ।

साक्षात्कारमा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाइ गर्न सरकारसँग आग्रह गरे ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले विकासप्रेमी नेतालाई मतदान गर्न अनुरोध गरे । नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरे । रासस