उपचारपछि थापा अस्पतालबाट डिस्चार्ज, आफ्ना कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रम जारी राख्न निर्देशन

१८,सोमबार ०९:२१   Sangita Rai

काठमाडौँ, १८ मंसिर । काठमाडौँको नारायणस्थानस्थित चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापा शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

शिक्षण अस्पतालमा जम्मा भएका शुभचिन्तक तथा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् ।

आफूलाई नै लक्षित गरेर बम बिस्फोट गराइए बताउँदै उनले भने, घरदैलो कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा ढिला गरी भएकाले म छिटो–छिटो पाइला चाल्दै थिएँ । त्यसैले मेरो पछाडि रहेका साथीहरुलाई चोट लाग्यो । अस्पतालबाट बाहिरिँदै गर्दा उनले आफ्ना कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रम जारी राख्न निर्देशन समेत दिएका थिए ।