गुणस्तरीय,सुरक्षित विद्युतीय सेवा प्रवाह, सव स्टेसन निर्माण शुरु

२६,आईतवार ०३:४१   Sangita Rai

काठमाडौ,२६ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय, सुरक्षित विद्युतीय सेवा प्रवाह तथा सेवा विस्तार गर्नका लागि सव स्टेसन निर्माण र प्रसारण लाइन मर्मत सम्भार गर्ने कामको थालनी गरेको छ । बिजुली पुगेको ठाउँमा समेत बिजुली आउने जाने भइरहने र आएको बिजुली पनि मधुरो हुने तर ग्राहकले उठेको महसुल तिर्नैपर्ने विषय चौतर्फी टीकाटिप्पणी हुन थालेको अवस्थामा प्राधिकरणले गुणस्तरीय विद्युत् प्रवाह गर्ने र थप सेवा विस्तार गर्ने योजना अगाडि बढाएको हो ।

ग्राहक सङ्ख्या निकै बढी भइसकेका तर सवस्टेसनको क्षमताले धान्न नसक्ने अवस्थाको पहिचान गरी यो कार्यक्रमलाई सञ्चालन गर्न थालिएको हो । आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार देशभरका विभिन्न ठाउँका २५ वटा नयाँ ३३ र ११ केभी क्षमताका सवस्टेसन निर्माण गरिने भएका छन् ।

यी सवस्टेसन निर्माणले विद्युत् प्रवाहलाई नियमित गर्न मद्दत गर्नेछ । उनले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, हामीले नयाँ सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरी ४० प्रतिशत जति काम सम्पन्न भइसकेको छ, आगामी एक वर्ष्भित्रै यी सवस्टेसनको निर्माण कार्य पूरा हुने गरी सम्झौता भएको छ ।

त्यसैगरी पुराना सवस्टेसनको क्षमता सुदृढीकरण गर्ने कार्यलाई पनि एकैसाथ अगाडि बढाइने भएको छ । निर्देशनालयका अनुसार यहीँ समयमा विभिन्न ठाउँमा रहेका पुराना ११ वटा सवस्टेसनको क्षमता सुदृढीकरण गर्न लागिएको छ । सवस्टेसन निर्माण र प्रसारण लाइनको मर्मत सम्भार गरेपछि नयाँ दुई लाख ग्राहकलाई हालकै अवस्था विद्युत् वितरण गर्न सकिने लक्ष्य प्राधिकरणले लिएको छ ।