आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य

१८,शनिबार ०८:४१   Sangita Rai

काठमाडौं,१८ कात्तिक। सरकारले आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य राखेको छ । तर, मेलम्चीको १।२ किलोमिटर सुरुङ अझै छिचोल्न बाँकी छ । दुई स्थानमा ब्रेक – थ्रु भएपछि मात्रै सुरुङ छेड्ने काम सकिनेछ । तर, अहिले खनिएको सुरुङको प्लास्टर र फिनिसिङमा पनि ढिलाई भइरहेको छ ।

झण्डै ६ महिनाअघिदेखि सुरु भएको प्लास्टरको काममा प्रगति न्युन छ । ६ महिनमा दुई किलोमिटर मात्रै सुरुङ प्लास्टर गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले बताए । ‘सुरुङभित्र प्लास्टरसहित फिनिसिङ गर्न केही ढिलाइ भएको छ । अब हामी सुरुङको ब्रेक – थ्रु र फिनिसिङको काम समानान्तर रुपमा अघि बढाउँछौं ।

चैतसम्म पानी ल्याउने हो भने १२ सय मिटर सुरुङको छेडेर बाँकी साढे २५ किलोमिटर सुरुङको प्लास्टर पनि गर्नुपर्नेछ ।
आयोजना प्रमुख देवकोटा सुरुङको प्लास्टरका लागि भारतबाट ६ वटा मिक्सचर मेसिन मगाइउको बताए । ती मेसिन आएपछि प्लास्टर फिनिसिङको काम पनि सँगै अघि बढाइने उनले बताए ।

प्लास्टरपछि सीधै मेलम्चीको पानीलाई सुरुङमा हालेर सुन्दरीजलको पानीप्रशोधन केन्द्रमा ल्याइने छ । प्रशोधनपछि मात्रै यसलाई विरणलाइनमा हाल्ने योजना छ । अहिले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ ।

सुरुङ निर्माणकोकाम इटालीयन ठेकेदार कम्पनी को अपेरटिभ मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले गरिरहेको छ । अहिले सुरुङ निर्माणको गति दैनिक १८ मिटर मात्रै सुरु खनिँदैछ । पुसको मध्यसम्मसुरुङ निर्माण सकाउने सरकारको लक्ष्य छ । तर, अहिलेकै कामको गतिले यो सम्भव नदेखिएको र केही गति बढाउनुपर्ने आयोजना प्रमुख देवकोटाले बताए ।

आयोजना कार्यान्वयन निर्देशनालयले चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याइसक्ने लक्ष्य राखेर पाइप राख्ने काम धमाधम गरिरहेको छ । तर, अहिलेकै गतिमा काम भए चैतसम्म पनि मेलम्चीको पानी काठमाडौं आउन मुस्किल पर्ने देखिएको छ । त्यसपछि फेरि पानी वितरणको ‘डेटलाइन’ सार्नुपर्ने अवस्था आउन सक्नेछ ।

मेलम्ची खानेपानी आयोजनाको २६।३ किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब ९।४ किलोमिटर सुरुङ अघिल्लो वर्षको पुसको मध्यमै छेडिएको थियो । अहिले सिन्धुदेखि ग्यालथुमसम्मको ५ सय मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको ७ मिटर सुरुङ खन्न बाँकी छ । पुसम्मिको दुबै सुरुङको ब्रेक–थ्रु गर्ने योजना छ ।

चाइना रेल्वेले सन् २०१३ को सेप्टेम्बरसम्म काम सक्ने गरी २००९ मा सुरुङको ठेक्का लिएपनि काम सुस्त भएपछि २०१२ मा सम्झौता तोडिएको थियो । त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ निर्माण गरेको थियो । त्यसपछि इटालियन ठेकेदारले काम थाल्यो । तर, भूकम्प र नाकाबन्दीका कारण देखाउँदै यो कम्पनीले पनि समयमै काम गर्न सकेन ।

यो सुरुङ बनेपछि भने सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंको सुन्दरीजलमा झर्नेछ । पटक–पटक म्याद थपिएको मेलम्ची काठमाडौं आउन अर्को एकपटक पनि म्याद थप्नपर्ने अवस्था नजिक रहेको सरकारी अधिकारीले बताए ।