चुरोट नखाने कर्मचारीलाई विशेष सुविधा योजना सुरु, हालसम्म ४ जनाले छाडेँ

१५,बुधबार १०:१३   Sangita Rai

१५ कात्तिक । जापानको एक व्यावसायिक कम्पनीले चुरोट नखाने कर्मचारीका लागि विशेष सुविधा दिएको छ ।  टोकियोमा रहेको पिआला कम्पनीले चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाएको छ ।

कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा दिनुपरेको कम्पनीले जनाएको हो ।

कर्मचारी चुरोट खाने बेला बेलामा निस्कने गर्दा काममा असर परेको गुनासो बढेपछि नयाँ योजना ल्याइएको कम्पनीले जनाएको छ ।

२९ तलामाथि रहेको कम्पनीका कर्मचारी चुरोट खान भुइँतल्लासम्म आउँदा कम्तीमा एक पटकमा १० मिनेट समयको बर्बादी हुने गरेको कम्पनीले जनाएको छ ।

गएको सेप्टेम्बर १ तारिखदेखि विशेष सुविधाको योजना सुरु भएपछि ४ जनाले चुरोट छाडिसकेका छन् । जापानको सरकारी तथ्यांकका अनुसार त्यहाँका २८ प्रतिशत पुरुष र ९ प्रतिशत महिला चुरोट पिउँछन् ।