टाउको जोडिएका जुम्ल्याहामध्ये एक बालकको होस खुल्यो

१३,सोमबार ०६:०९   Sangita Rai

१३ कात्तिक । भारतमा टाउको जोडिएर जन्मिएका नाबालकको टाउको छुटाउन भएको शल्यक्रियाको चौथो दिन एक बालकले आँखा खोलेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्राध्यापक दिपक गुप्ताले जागा नाम गरेका बालकले आँखा खोलेको र सामान्य खालका प्रतिक्रियाहरु जनाएको बताएका हुन् ।

जागा अहिले भेन्टिलेटरमा छन् र मृगौलामा समस्या देखिएकाले उनलाई दैनिक डायलाइसिस गर्नुपर्नेछ । जागाका जुम्ल्याहा कालिया भने अझै होसमा आएका छैनन् । उनीहरुको शल्यक्रिया गत साता दिल्लीस्थित सरकारी अस्पतालमा भएको थियो ।

२ वर्षीया यी बालकहरुको टाउको छुटाउनका लागि डाक्टरहरुलाई १६ घण्टाभन्दा बढी समय लागेको थियो । भारतमै पहिलोपटक भएको भनिएको यस किसिमको शल्यक्रिया ३० सदस्यीय डाक्टरहरुको समूहले गरेको थियो ।

डाक्टरहरुले बालकहरुमा देखिएको प्रगतिले आफूहरु निकै प्रसन्न भएको बताएका छन् । पूर्वी भारतीय राज्य उडिसाको एउटा गाउँका यी जुम्ल्याहा जन्मिँदा उनीहरुको रक्तनली र मस्तिष्कका तन्तुहरु जोडिएका थिए ।

क्रेनियोपिगस नामक अवस्थाका यी बालकमा देखिएको यस्तो किसिमको अवस्था प्रत्येक ३० लाखमध्ये एकमा देखापर्छ । जसमध्ये ५० प्रतिशत शिशुहरु जन्मिएको २४ घण्टामा मृत्यु हुने गरेको डाक्टरहरुले बताएका छन् । यी जुम्ल्याहाको पहिलो शल्यक्रिया अगष्ट २८ तारिखका दिन भएको थियो । बीबीसी