क्याटलोनियाको संसद भंग, प्रहरी प्रमुखलाई समेत बर्खास्त

११,शनिबार ०२:५१   Sangita Rai

एजेन्सी, ११ कार्तिक । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटलोनियाको संसद भंग गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् ।

क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोयले त्यहाँको संसद् र सरकार भंग गरेका हुन । उनले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेका छन् । क्याटलान संसद भंग गर्दै प्रधानमन्त्री राखोयले स्थानीय चुनावको घोषणा पनि गरेका छन् ।

स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा अक्टोबर १ मा जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा अत्याधिक बहुमत आएको क्याटालोनियाका नेताले बताएका थिए ।

त्यसपछि बढेको क्याटालोनिया र स्पेनको केन्द्र सरकारबिचको तनाव क्याटलान नेताले स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेपछि उत्कर्षमा पुगेको हो । क्याटालोनिया स्पेनकै भाग रहे पनि स्वायत्त रहँदै आएको थियो । अब भने मड्रिडबाट प्रत्यक्ष शासन लागु भएको छ ।