नेपालमा १० बर्षभित्रमा विद्युतीय गाडी चलाउनुपर्ने संकल्प प्रस्ताव संसदमा दर्ता

२,सोमबार १७:२७   Sangita Rai

काठमाडौँ, २ असोज । सांसदहरुले विद्युतीय सवारी साधन चलाउनमा जोड दिएका छन । उनीहरुले अन्तराष्ट्रिय स्तरको विद्यूतीय सवारी साधन चलाउनका लागि आवश्यक तयारी गर्न पनि सरकारलाई आग्रह गरेका छन ।

काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले काठमाडौँ उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा सोमबार दर्ता समेत गरेका छन ।

प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ ।

विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ ।

चीनले सन् २०४० मा सबै गाडी विद्युतीय मात्रै चलाउने घोषणा गरिसकेको छ भने यो प्रस्तावमा रुस र अमेरिका पनि अगाडी बढिरहेका बेला सांसद थापाले नेपालमा पनि यो कदमको शुरुवात गर्न पहल चालेका हुन ।