सरकारले सहमति कार्यान्वयन नगरे फेरि अनशन बस्ने डा.केसीको चेतावनी

२१,बुधबार ०४:१४   Sangita Rai

काठमाडौं,२१ भदौ । पटकपटक अनशन बस्दै आएका डा.गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आज बुधबार दिउँसो सम्मको समय दिएका छन् ।

११ औं पटकको अनशन तोडेको २२ दिनपछि उनले बुधबार आज दिउँसो साढे ३ बजेसम्ममा यसअघि आफूसँग भएका सहमति कार्यान्वयन नभए आजै बुधबारदेखि १२ औं पटकको अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

यसअघि गएको साउन ३१ गते २२ दिन अनशन बसेर अनशन तोडेका डा. केसीले सरकारले आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने बताए । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भनिए पनि काठमाडौं मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै निर्णय नसच्याए १२ औं पटकको अनशन बस्ने बताए ।

चिकित्सा शिक्षा भित्रको विकृति अन्त्य, नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज तथा मनमोहन मेडिकल कलेजलाई सम्बन्ध दिन नहुने भन्दै उनी अनशन बस्न लागेका हुन् ।