बाढीले मोरङका कृषि क्षेत्रमा ५६ करोड बराबरको क्षति

१४,बुधबार १०:५९   Sangita Rai

विराटनगर, १४ भदौ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५ सय २० हेक्टरको धानबाली पुरिँदा २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९ सय ५० परिवार प्रभावित भएका छन् ।

तीन सय १७ हेक्टरमा नौ करोड १३ लाख ६८ हजार मूल्यको तरकारीबाली र ३ सय १३ हेक्टरमा निर्माण गरिएको माछा पोखरीमा बाढी पस्दा १६ करोड २६ लाख ६८ हजारको माछाको माउ र भुरा क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

एक सय १० हेक्टरमा रु एक करोड २७ लाख ६७ हजार मूल्यको जुटखेती, २४ हेक्टरमा रहेको केरा, कागती र मेवाखेती नष्ट हुँदा रु ७१ लाखको क्षति भएको छ । करिब दुई हजार किसानको घरमा पानी पस्दा सञ्चित गरी राखिएका एक करोडभन्दा बढीको ४ सय ९० मेट्रिक टन धान र गहुँ क्षति भएको छ ।

माउ र भुरा बाढीले बगाउँदा माछापालनमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिए । विराटनगरमा वर्षासँगै पाँच दिनसम्म विद्युत् सेवा अवरुद्ध हुँदा गणेश कोल्डस्टोरमा राखिएको एक हजार मेट्रिक टन आलुमा टुसा पलाएको र मेसिनमा समेत क्षति पुग्दा ५० लाख बराबरको नोक्सान भएको बताइएको छ । रासस