परराष्ट्रमन्त्री महरा र पाकिस्तानी राजदूतको भेट, हवाई मार्ग प्रमुख प्राथमिकता

१४,बुधबार १०:१७   Sangita Rai

काठमाडौँ, १४ भदौ । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच द्धपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले दुई देशबीच हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुबै पक्षले पहल गर्नुपर्ने बताए । द्धपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उनले उक्त संयन्त्रको बैठकलाई नियमितता दिनुपर्ने धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री महराले पाकिस्तानसँग नेपालको सधैँ सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ उचाइमा पु¥याउनुपर्ने बताए । भेटमा राजदूत जावेदले पाकिस्तान र नेपालबीच हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकार समक्ष प्राथमिकता साथ राख्ने बताउँदै आपसी सहयोग र द्धपक्षीय हितका विषयलाई अझ सवल बनाएर लैजानु पर्नेमा जोड दिए । रासस