तत्काल राहतसँगै बाढीपिडितलाई ५ लाख दिन माओवादीको माग

६,मंगलवार ०८:११   Sangita Rai

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा मङ्गलबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता पम्फा भुसालले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त शिक्षाका आधारमा २ नं प्रदेशको निर्वाचनलाई थप प्रभावकारी बनाउन पार्टीका तर्फबाट सम्पूर्ण शक्ति परिचालन गर्ने र पहिलो पार्टीका रुपमा स्थापित हुने गरी कार्य योजना समेत तयार पारिने जानकारी दिइन्  ।

माओवादीले यसअघि नै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादव लगायतलाई निर्वाचनका विषयमा आवश्यक तयारी गर्न केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो ।

यस्तै प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासका लागि तत्कालीन राहत १ लाख, मृतक परिवारलाई ३ लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि ५ लाख उपलब्ध गराउन माग गरिएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

यस्तै माओवादी केन्द्रले आदिवासी, जनजाति, मधेसी, महिला र दलित समुदायलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अत्यावश्यक रहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘दम्भ र अहंकार’का कारण सफल हुन नसकेको ठहर गरेको छ । माओवादी केन्द्रले जनताको अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय समेत गरेको छ । रासस