प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल–भारतबीच ७ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

६,मंगलवार ०६:२३   Sangita Rai

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा नेपाल र भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको हो ।

नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको करिब २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । समझदारी अनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी, गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रण समझदारीका थप विषय हुन् ।