सम्पादकीय : निशब्द……………………….के नेपालमा सरकार छ ?

३०,सोमबार २०:५३   Sangita Rai

तपाईले यो तस्बिर देखि सकेपछि के महसुस गर्नुभयो ? अनि के बोली फुट्यो ? कसप्रति धेरै रिस उठ्यो । तर न्यु डिएनएन समाचार युनिट निशब्द छ । यी लेखिएका सबै शब्द मौन प्रतिक्रिया मात्रै हुन । निकै बाध्यात्मक अवस्थामा ।

नेपालीका लागि कुनै ठूलो विपद छ भने त्यो २०७२ बैशाख १२ गते हो । जुन दिन मध्यान्ह ११ बजे ५६ मिनेट गएको गोरखा भूकम्पले झण्डै १० हजारको ज्यान लियो । दोब्बर घाइते भए ।

तर क्षतिका हिसाबले त्यत्तिकै भएपनि २०७४ साउन २७ गते आएको अविरल बर्षाले भूकम्पको पीडालाई विर्साएको छ । र केही यस्ता कारुणीक दृश्य देखिएका छन । जसले सारा संसार नै हल्यायो । तपाई र हाम्रो मुटु त झस्कियो नै ।

न्यु डिएनएन वेबसाइटमा यो तस्बिरको समाचार हेर्दा नै एक जना महिलाले झण्डै एक घण्टा आखाँ चिम्लिनुभयो । र भन्नुभयो मलाई यस्ता फोटोहरु नदेखाउनु होला ।

सबैले देखेका छन नदी, खोला र समुन्द्रमा यस्ता तस्बिर कैयौँ देखिए । तिनको चर्चा भयो । तर यो तस्बिरको चर्चा मात्र होइन । एउटा अन्त्यहिन नेपाली वास्तविकता, गरीबी र अवस्थालाई सारा दुनियासामु छर्लङग पार्यो ।

तस्बिरका केही तथ्य

यो तस्बिर फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका छन । युरोपिएन फोटो एजेन्सी इपीएका लागि फोटो खिच्ने उनले सप्तरीको यो घटनालाई आफ्नो क्यामेरामा कैद गरेका हुन ।

तस्बिरमा पानीमा तैरिरहेका बालकको नाम कमल सदा हो । स्थानीयका अनुसार उनी ८ बर्षका भए । उनी मृत्त हुन । उनलाई बाढीले बगाएको होइन । बगाएर पनि उनको मृत्यु भएको होइन ।

उनी घरैमा सुती सुती मृत्युको मुखमा पुगेका हुन । हप्तादिन अघि बिरामी भएका कमल उपचार नपाएर बाढीको चपेटाले मारिए । अनि तस्बिरमा देखिएका अभिभावक जस्ता लाग्ने मृत्तक बालकका काका हुन । बुवा होइनन । उनको नाम देव कुमार सदा हो ।

उनी बाढीले बगाएका बालकलाई उद्धार गर्न समात्न लागेका पनि होइनन । उनी त एउटा मृत्तक बालकलाई बाढीमा बगाउन लागेका हुन ।

यो घटना नेपालमै पहिलो पटक हो । एउटा सानो बालकलाई मृत्यु भएपछि गाडिन्छ । तर यहाँ तस्बिरमा बालकलाई गाड्न होइन बगाउन लागेका छन । उनलाई गाड्ने जमीन नपाएर । बाढीले सबै ठाउँ जलमग्न भएपछि आफन्तले यी निर्दोष तर मृत्तक बालकलाई बगाएका हुन ।

यतिसम्म आइपुग्दा हामी आफ्नो मन थाम्न सक्दैनौँ । र आशु नझारी बस्न सकेनौँ । अनि मन भक्कानिनबाट रोक्न सक्दैन । आखिर कति धेरै पीडा र विवशतासँग पिल्सिन बाध्य छौँ हामी नेपाली भनेर ।

घटनाको वास्तविकता

मृत्तक कमल सदा गरीब घरपरिवारमा जन्मेका हुन । उनका बुवा रोजगारीका लागि पुर्वी नेपालकै धरानमा छन । तर उनको मृत्युपछि उनी घर आउन चाहेर पनि सकेका छैनन् ।

उनकी आमा कमलको मृत्युपछि शोकले विह्ल छिन । लगातारको पानीपछि आएको बाढीले उनले पनि केयौँ दिनदेखि खान पाएकी छैनन भने सुत्न र आरामको कुरै छाडौँ ।

यस्तो बेला बालकको उपचार उनले कहाँ गएर गर्ने थिइन ? त्यसैले उनले आफ्नो छोरालाई चाहेर पनि मृत्युको मुखबाट बचाउन सकिनन । मृत्युपछि बुवा नभएका कारण उनका आफन्तले बालकको शब गाड्न धेरै अलमल पनि गर्नुपरेन ।

जमीन नै नभएपछि सबैले शवलाई बाढीमै बगाईदिनु पर्ने भने । र गरेपनि । तर यही बाढीमा बगाउने उनका काकाको निर्णयले यतिबेला संसारलाई थाहा भएको छ, नेपालको गरीबी र अस्तव्यस्तता कतिसम्म भयानक छ भनेर ।

नेपालमा सरकार पनि छ र ?

८ बर्षीय कमल सदाको उपचार नपाएर मृत्यु भएको हो । कमलजस्ता कैयाँैले तराई र मधेसमा आएको बाढीमा उपचार र समयमै उद्धार नपाएर ज्यान गुमाउनुपरेको छ ।

र यो घटनाको तस्बिर त्यतिबेला सार्वजनिक भएको हो । जतिबेला नेपालका प्रधानमन्त्री शेर बहादुर देउवासहित पाचँ जना पावरफुल मन्त्री हेलिकोप्टर चढेर बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा शयरमा थिए ।

उनीहरुको त्यो शयरमा अरबौँ खर्च भयो । तर उनीहरुले एउटा विशेष स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरको साटो बाढी प्रभावित क्षेत्रमा पठाएको भए कमल सदा जस्ता निर्दोषहरुको मृत्यु त अकालमै हुने थिएन !

यदि देशमा सरकार भएको भए कमलले मृत्युपछि पानीमै बगेर स्वर्ग पुग्नुपर्ने थिएन । कम्तीमा उनले घरपरिवारबाट अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार त पाउँथे ।

तर सरकार भए पो यस्तो संवेदना आउँथ्यो । भागबण्डामा तै खाउँ, मै खाउँ भनेर ६/६ महिनामा राज्यकोष लुट्न बानी परेका दल र तिनका नेतालाई यसले छुन्छ भन्ने कहिल्यै लाग्दैन ।

बाढी आएको चार दिनपछि अनुगमनका नाममा हेलिकोप्टरबाट दुई चार फन्का मारेका प्रधानमन्त्री र मन्त्रीहरुमा यो सोच कहिले आउला ? भन्ने चिन्तामै नेपालको गरीबी थप गहिरिदै गएको छ ।

तर दुई हातका दश औला जोडी आग्रह गर्छौँ, यस्तो अवस्था फेरि नेपालमा नआओस । तर यसका लागि सरकारको मुुख ताक्न छाडेर अब आफैले केही गर्नुपर्ने बेला आइसकेको छ । र अब ढिला नगरी बाढीपीडितको उद्धार, राहत र सहयोगमा जुटौँ ।

प्रकाशित मिति : २०७४ साउन ३१ गते ।