ठूलो दल कांग्रेस कहाँ चुक्यो ?

२४,शनिबार ११:४५   Sangita Rai

दाङ,२४ असार । स्थानिय तह निर्वाचन अन्तर्गत दोस्रो चरणको परिणाम करिब करिब आइसकेको छ । परिणामअनुसार नेकपा (एमाले)सबैभन्दा ठूलो दलका रूपमा स्थानीय तहमा स्थापित भएको छ ।

नेपाली कांग्रेसले यो परिणामलाई स्वीकार गरे पनि अनपेक्षित परिणामका रुपमा लिएको देखिन्छ । नेपाली कांग्रेसले किन अप्रत्याशित पराजय भोग्यो भन्ने प्रश्नको जवाफ हुन्छ ? कम मत पाएर कांग्रेसले अब यही बिन्दुबाट आफ्नो समीक्षा थाल्नु पर्छ । किन कांग्रेसलाई कम मत आयो ?

कुनै पनि घटनाक्रमलाई बिश्लेषण गर्दा ऐतिहासिक आधारमा समेत हेर्नुपर्ने हुन्छ । कांग्रेसको पराजयको कारण हेर्ने हो भने एक प्रकारले स्वाभाविक पनि देखिन्छ । किनभने नेपालको सबै निर्वाचनमा निराशाको मत निर्णायक हुने गरेको छ ।

अझ यसलाई सजिलोसँग बुझ्नका लागि हेरौ, २०१५ सालमा दुईतिहाइ बहुमत ल्याएको कांग्रेसको सत्तामात्र हैन व्यबस्था नै १८ महिनापछि अपदस्थ हुँदा पनि नागरिक स्तरबाट त्यसको खासै प्रतिबाद भएन ।

विसं २०३७ सालको जनमत संग्रहमा राजाले पञ्चायत नजोगिने देखेर ‘सुधारिएको पञ्चायत’को पक्षमा आफूलाई उभ्याए । विसं ०४८ र ०४९ मा कांग्रेस अत्यधिक ठूलो दल रहेको अबस्थामा २०५१ को मध्यावधिमा दोस्रो हुन पुग्यो ।

त्यसपछि नेकपा ( एमाले ) ले सरकार चालायो । अहिलेसम्म चुनावी नारा बनाएको वृद्धभत्ता बाँढ्ने एमालेको सरकार ९ महिनामा ढल्यो तर ऊ समेतको संयुक्त सरकारले २०५६ मा चुनाव गरायो । वृद्धभत्ताको नारा भजेन र कांग्रेसले संसद्मा स्पष्ट बहुमत ल्यायो ।

दलहरुप्रति अविश्वास बढिरहेको समयमा उदाएका राजा पनि टिक्न सकेनन् । उनको राजसंस्था जोगाइदिन कोही पनि सडकमा आएन । संसदको एउटा घोषणाले उनी नारायणहिटी छाड्न बाध्य भए ।

विसं २०६४ को चुनावपछि अब कांग्रेस र एमालेले आफ्नो साख जोगाउन वर्षौ कुर्नुपर्छ भन्ने चर्चा चल्यो । तर २०७० मा माओवादी पहिलोबाट तेस्रो भयो, कांग्रेसको दिन फक्र्यो । त्यस्तैै अहिले आएर २०७४ सालमा एमाले उदाएको हो ।

उल्लेखित घटनाक्रमले के देखाउँछ भने नेपाली मतदाताले चाडो परिवर्तन चाहँदा रहेछन् । रोग, भोक, गरिबी, अशिक्षामा केही सुधार आए पनि नयाँ समस्याका रुपमा थपिएका बेरोजगारी, अस्तव्यस्तता, राज्यको व्यबस्थापकीय क्षमतामा देखिने ह्रास, भ्रष्टाचार, आत्मीयतामा प्रहार, भौगोलिक, जातीय साम्प्रदायिक भावनाको विकासजस्ता कुरावाट जनता दिक्क छन् । ‘अब अर्को दलवाट केही हुन्छ कि ? भन्ने सोंच मतदातामा सदैव आइरहन्छ ।

तर, सुधारका लागि चमत्कारी नेतृत्वको उदय हुन सकिरहेको छैन । मतदाताले प्रत्येक चुनावमा विकल्पमा रोज्ने मानसिकता बोकेका हुनुपर्छ । यो नेपाली मतदाताको एउटा चरित्र झै बन्न पुगेको छ । विसं २०७० मा राम्रो जनमत पाएको कांग्रेसको फेरि विकल्प खोजे जनताले यो स्थानीय निर्वाचन मार्फत् ।

मतदाताको यसप्रकारको भावनालाई कांग्रेसले बुझ्न सकेन । कांग्रेसको हारको पहिलो कारण यही हो । उम्मेदवार चयन गर्दा कांग्रेसले जनताले बिकल्प भेटाएको, संभावना भएको नेतृत्व पाएको अनुभूति हुने प्रकारका पात्रलाई अगाडि उभ्याउन सकेन ।

जनस्तरमा एक प्रकारको बिश्वास जितेका पात्र प्रशस्तै नभएका होइनन्, तर गुटगत प्रतिस्पर्धाको मिचाइमा ती सबै संभावना च्यापिएको कांग्रेसले पत्तै पाएन ।

काठमाडौंमा विवेकशील र साझा पार्टीले पाएको मत उनीहरुप्रतिको आकर्षणभन्दा पनि मतदाताको विकल्पको खोजी थियो भन्ने कांग्रेसले बुझ्न चाहेन । भर्खरै सत्तारोहण गरेको कांग्रेसले सत्तामा जाने पात्रको छनोटका क्रममा पनि जनताले खोजेको विकल्पलाई सम्बोधन गर्न सकेन ।

कांग्रेसको विकल्प कांग्रेस नै हो अथवा कांग्रेसको विकल्प कांग्रेसभित्रैबाट संभव छ भन्ने भावनाको विकास गर्ने रणनीति कांग्रेसले अख्तियार गर्न चाहेन । त्यसैले ०७० सालमा आफैँले ठूलो बनाएको पार्टीलाई जनताले ०७४ सम्म आइपुग्दा फेरि सबक सिकाए ।

नेपाली कांग्रेसले सर्वप्रथम यो कुरालाई मनन् गरेरमात्र आफ्नो पराजयका अन्य आन्तरिक कारण खोज्न आबश्यक छ । ती कारणलाई बुँदागत रुपमा हेरौ ।

१. उम्मेदवार छनोटमा ढिलाइ गरिँदा स्थानीय चुनाव लड्ने उमेदवारले मतदातालाई मुख देखाउनसमेत घरघर जान पाएनन् ।

२. लोकप्रिययता नाप्ने गलत आधार तयार गरियो । कांग्रेसभित्र हैन गुटभित्र लोकप्रिय खोजियो । पार्टीभित्रका इमानदार, गुटको साहाराविना नै व्यक्तित्व निर्माण गरेका पात्रहरुले टिकट वितरण प्रक्रियामा न्यायको अनुभूति गर्न सकेनन् । पार्टीले न्याय दिन नसक्ने हो त रु भन्ने एउटा डरलाग्दो भावनाको जागत हुनपुग्यो । त्यस्ले निराशा बढायो । निराश सिपाहीले युद्ध जित्न असंभव हुन्छ ।

३. रणनीति र कार्यक्रम रहित चुनावको सामना गर्नु पनि अर्को हारको कारण हो । यो स्थानीय चुनावको लागि पार्टीको कुनै पनि रणनीति देखिएन ।

त्यस्तै निर्वाचन परिचालन समितिले आयोजना गरेका प्रदेश स्तरीय सभाबाहेक पार्टीले कुनै पनि निर्वाचन केन्द्रित कार्यक्रम दिन सकेन । विसं २०७० सालको चुनावअगाडि गाँउ जागरण अभियान, प्रशिक्षण कार्यक्रम र विकास क्षेत्र स्तरीय सभा गरी चुनावी वातावरण बनाइएको थियो । गाँउ जागरण अभियानले हरेक सक्रिय सदस्यलाई क्रियाशील बनाएकोे थियो । यस पाली पार्टीले कार्यकर्ता परिचालन गर्ने कुनै पनि कार्यक्रम दिन सकेन । कुनै पनि भातृसंगठन चुनाव केन्द्रित अभियानका साथ परिचालित हुन सकेनन् ।

४. सन्तुलनको अभाव पनि अर्को समस्या बन्यो । कांग्रेस पार्टीभित्र गुटका नाममा शक्ति केन्द्रहरु छन् । भन्ने सर्वविदितै छ । चुनावमा होमिदा ती शक्तिकेन्द्रबीचमा सन्तुलन कायम गर्नुपर्ने थियो । त्यसो हुन सकेन । पेलेर आफ्ना मान्छे स्थापित गर्ने प्रतिस्पर्धामा गुटका नाइकेहरु लागे । कहीँ कसैले पेले, कहीँ कसैले । कतै पनि सन्तुलन भएन ।

५. उमेदवारका दावेदार बनेकालाई टिकट नपाएको अबस्थामा परिचालित गर्ने रणनीति बनाउन कांग्रेस देशभर विफल भयो । पराजयका पछाडि यो पनि महत्वपूर्ण कारण हो ।

६. पार्टीभित्र विकास हुँदैआएको बदलाको भावना पनि पराजयको महत्वपूर्ण कारण हो । आफूले टिकट नपाएपछि अर्कालाई किन हुन दिने ?भन्ने चरित्र बलियो बन्यो । नेतृत्वले यो चरित्रलाई चिर्न सकेन । अनि त्यो बदलाको भावना अन्तरघातमा परिणत भयो । यही अन्तरघातका कारण कांग्रेसका गढ भनेर चिनिने जिल्ला र क्षेत्रसमेत ध्वस्त हुन पुगे ।

७. टिकटलाई नै पद मान्ने संस्कारले पनि कांग्रेस कार्यकर्ता ग्रसित छन् । पार्टीवाट टिकट लिने भनेको एकैपटक पदमा पुग्नु हो भन्ने सोचेको पाइन्छ ।

बिपक्षीसंँग चुनाव लड्नुपर्छ, त्यसका लागि आफूलाई सम्पूर्ण रुपमा तयार गर्नुपर्छ भन्ने कुरालाई महत्व नदिएरै टिकटको आकांक्षा राख्ने प्रवृत्तिले आकांक्षी धेरै हुनेगर्छन् । धेरै आकांक्षी हुने र एउटाले मात्र अवसर पाउने अबस्थामा हुनु पनि समस्या हो ।

कांग्रेसले पार्टी निर्णयभन्दा बाहिर जानेलाई कारबाही गर्ने कुरामा आफूलाई उदाररुपमा प्रस्तुत गर्दै आएको छ । यही कारण पार्टी अनुशासन विहीनहरुको भिडजस्तो पनि देखिन्छ । यही कारणले पार्टीको वचाउ गर्दै पार्टीले गरेका राम्रा कामको प्रचारसमेत गर्न सक्तैन । पार्टीको अर्को नेताको अस्तित्व स्वीकार गर्न पनि यही कारणले गाह्रो मान्ने गरेको देखिन्छ ।

उदाहरणको लागि हेर्न सक्छौ, एमालेले बृद्धभत्तालाई ०५१ सालदेखि भजाउँदै छ तर गएको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मापाएको कांग्रेसले निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क मुटुको उपचारजस्ता नागरिक स्वास्थ्यसँग जोडिएका बिषयलाई उठाउन सकेन । यो कुरा उठाउदा गगन थापाको प्रचार हुन्छ भन्ने मानसिकता कांग्रेसमा देखियो । यो सबै मानसिकता अराजनीतिक र व्यक्तिवादी प्रवृत्ति व्याप्त भएका कारण विकास भएको हो ।

यस्ता पवृत्तिको अन्त्य गर्न पार्टी निर्णयबाहिर जानेलाई पहिचान गरी अनुदार भएर कारबाही गर्ने आँट अब कांग्रेसले देखाउनै पर्छ । यही बिन्दूबाट आफूभित्रको सूक्ष्म व्यवस्थापन गर्दै सुधारको बाटामा हिँड्न विलम्ब गर्नु हुँदैन । यस मार्गमा हिँडेको परिणाम अर्को चुनावमा देखिनेछ ।
                                                                                                                                                                                 विपुल पोख्रेल बाट……